दाङ,६ भदौ । दाङको तुलसीपुरमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। उपमहानगरपालिका- ६ बाहिनीचोक नजिक रहेको तुलसी पेट्रोल पम्पमा आगलागी हुँदा एक जना घाइते भएका छन्।
शनिबार बिहान करिब ५ः३० बजे रा.१ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा पम्पको काउन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार कोठाभित्र बालिएको अगरबत्तीको रापबाट आगो सल्किएको हो।
आगलागीमा परी पेट्रोल पम्पका ४२ वर्षीय मेनेजर हुकुम भण्डारीको हात, खुट्टा र अनुहारमा सामान्य जलन भएको छ। घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
स्थानीयवासी र प्रहरीको सक्रियतामा बिहान ५ः५० बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको अन्य क्षतिको विवरण भने खुल्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस