दाङ,६ भदौ ।चालु वर्षको वैशाखदेखि भदौ ५ गतेसम्म देशभर ५ हजारभन्दा बढी विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ५ हजार १४ विपद्का घटना हुँदा २५० जनाको मृत्यु भएको छ।
विपद्का घटनामा आठ जना बेपत्ता भएका छन् भने १ हजार ६०७ जना घाइते भएका छन्। यस्तै, ६ हजार २७२ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। यस अवधिमा १ हजार १३६ आगलागीका घटना भएका छन्। त्यस्तै, पहिरोका १ हजार ११, सर्पदंशका १ हजार १०, हावाहुरीका ४८०, भारी वर्षाका ३२०, बाढीका २७३ र चट्याङका २४५ घटना भएका छन्।
यसैगरी जनावरको आक्रमणका २७२, वन डढेलोका १९१, लेक लाग्ने ५९, भूकम्पका चार, असिनाका चार, हिमपहिरोका दुई तथा डुङ्गा पल्टिने र विस्फोटनका एक/एक घटना भएका छन्।
भदौ ४ गते बिहान ८ बजेदेखि भदौ ५ गते बिहान ८ बजेसम्म मात्रै देशभर ३३ विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो एक दिनमा भएका विपद्का घटनाबाट करिब ९ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, दुई स्थानमा सडकसमेत अवरुद्ध भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस