काठमाडौ। रेबिजका कारण नेपालसहित विश्वभर वर्षेनि हजारौँ मानिसले ज्यान गुमाइरहेका छन्। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपालमा २ लाख २३ हजारभन्दा बढी जनावरको टोकाइका घटना दर्ता भएका छन्। तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन्। नेपालमा वर्षेनि झन्डै १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ भने कुल जनसंख्याको करिब आधा हिस्सा रेबिजको उच्च जोखिममा रहेको जनाइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। अनुज भट्टचनले कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई साबुनपानीले कम्तीमा १५ मिनेटसम्म धोएर तत्काल नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन आग्रह गरेका छन्।
उनका अनुसार कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नु हुँदैन। यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ। घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउन नहुने उनले बताए।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। यसका लागि देशभरका २८६ केन्द्रबाट निःशुल्क रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घरपालुवा कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउन तथा रेबिज नियन्त्रणका लागि सामुदायिक सहकार्य बढाउन आग्रह गरेको छ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ। विश्वभर वर्षेनि अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ। तीमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२।५ प्रतिशत अफ्रिकी देशमा हुने गरेको तथ्यांक छ। रेबिजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेको जनाइएको छ।
मानिसमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन्। त्यसैले कुकुरको खोप, जनचेतना, समयमै घाउको उपचार तथा पोस्ट(एक्सपोजर खोपमार्फत रेबिज नियन्त्रणमा जोड दिइँदै आएको छ।
विश्व रेबिज दिवस रेबिज रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेबिज निवारणप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा मनाइन्छ। यो दिन रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा महत्वपूर्ण योगदान पुर्याएका वैज्ञानिक लुई पास्चरको स्मृति दिवससमेत हो।
यस वर्ष विश्व रेबिज दिवस ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ मनाएको छ ।
प्रतिक्रिया दिनुहोस