काठमाडौ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सामान्य विवाद देखिए पनि कांग्रेस नफुट्ने बताएका छन्। उनले कार्यकर्तालाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राजनीतिक जीवनमा सामान्य विवाद आउनु स्वाभाविक भएको बताए। असन्तुष्टि भए पनि अन्ततः सबै एकै ठाउँमा मिल्ने र असोज १८ गतेदेखि सुरु हुने महाधिवेशनले सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ थियो।
बाढीपहिरोका कारण केही जिल्लामा अधिवेशन प्रक्रिया प्रभावित भएपछि कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सारिएको हो। अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने कांग्रेसले जनाएको छ।
देश बाढीपहिरोको विपद् र शोकमा रहेकाले यसपटकको महाधिवेशन सादगीपूर्ण र मितव्ययी रूपमा सम्पन्न गर्ने कांग्रेसले जनाएको छ। महाधिवेशनमा भड्किला झाँकी, तस्बिर तथा सजावट नगर्ने पार्टीको तयारी छ।
महाधिवेशनलाई प्रविधिमैत्री बनाउँदै प्रतिनिधिको परिचयपत्रमा क्यूआर कोड राखिएको छ। क्यूआर कोड स्क्यान गरेपछि आवास, भोजन तथा बन्दसत्रसम्बन्धी विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस