after_navbar

जसपा लुम्बिनीको समायोजनप्रति पाण्डेयको असहमति


११ घण्टा अगाडि


दाङ। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोषकुमार पाण्डेयले कार्यसमिति समायोजनप्रति असहमति जनाएका छन्।जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशले असोज १८ गते आयोजना गर्न लागेको प्रदेश कार्यसमिति समायोजन कार्यक्रमप्रति पाण्डेले असहमति जनाएका हुन्।

पाण्डेयले विज्ञप्ति जारी गर्दै तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेशबाट समायोजनसम्बन्धी कुनै औपचारिक निर्णय नभएको बताएका छन्। जसपा नेपाल र लोसपा नेपालबीच प्रदेश कार्यसमिति समायोजनका विषयमा अहिलेसम्म कुनै बैठकसमेत नबसेको उनको दाबी छ।

केन्द्रीय मापदण्ड र पार्टीको विधि–विधानअनुसार प्रक्रिया अघि नबढाई एकतर्फी रूपमा कार्यक्रम आयोजना गर्न लागिएको भन्दै पाण्डेयले आपत्ति जनाएका हुन्। ‘विधि र विधानविपरीत हुने कुनै पनि समायोजन स्वीकार्य हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ।

पाण्डेयले तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेश कार्यसमिति सम्मानजनक तथा सहमतिमा आधारित समायोजनको पक्षमा रहेको स्पष्ट पारेका छन्। तर, निर्धारित विधि, विधान र मापदण्डलाई बेवास्ता गरेर गरिने समायोजन आफूहरूलाई मान्य नहुने उनको भनाइ छ।

उनले तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई असोज १८ गते हुने भनिएको समायोजन कार्यक्रममा सहभागी नहुनसमेत आग्रह गरेका छन्।

पाण्डेयले समायोजन प्रक्रिया पारदर्शी, विधिसम्मत र दुवै पक्षको सम्मान हुने गरी अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="