after_navbar

कपुरकोटमा आँखा उपचार केन्द्र सञ्चालनमा


१० घण्टा अगाडि


दाङ । सल्यानको कपुरकोट गाउँपालिकास्थित आधारभूत अस्पतालमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा सुरु गरिएको छ। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, कपुरकोट गाउँपालिका र राप्ती आँखा अस्पतालको साझेदारीमा केन्द्र सञ्चालनमा आएको हो।

शनिबार गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन र नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संयुक्त रूपमा केन्द्रको उद्घाटन गरे।

कार्यक्रममा गिरीले स्थानीय सरकारसँगको साझेदारीमा आँखा स्वास्थ्य सेवा विस्तार भइरहेको बताए। उनले कपुरकोटमा सुरु भएको सेवालाई निरन्तरता दिने जनाए।

गाउँपालिका अध्यक्ष पुनले आँखा उपचार केन्द्र स्थापनाले स्थानीय नागरिकलाई सहज रूपमा सेवा लिन मद्दत पुग्ने बताए। गाउँपालिकाले विगत चार वर्षदेखि राप्ती आँखा अस्पतालसँग सहकार्य गर्दै आएको उनले जानकारी दिए। गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले यसअघि सञ्चालन गरिएका निःशुल्क आँखा शिविर तथा शल्यक्रिया शिविरबाट स्थानीयले लाभ लिएको उल्लेख गरे।

गाउँपालिका र राप्ती आँखा अस्पतालको साझेदारीमा सञ्चालन हुने केन्द्रबाट दैनिक बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म आँखा उपचार सेवा उपलब्ध हुने अस्पतालका वरिष्ठ प्रशासनिक अधिकृत जसराज विश्वकर्माले जानकारी दिए। केन्द्र सञ्चालनसँगै कपुरकोट र आसपासका नागरिकलाई आँखा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो। कार्यक्रमको सहजीकरण आधारभूत अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="