गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ।
सेनाका अनुसार जगत् गाउँबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो। यारुबाट उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिक पनि रहेका छन्।
सम्पर्कविहीन हुनेमा पाँच जना चौँरी गोठाला रहेको प्रारम्भिक विवरण छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले पहिरोका कारण नदी थुनिएर पछि फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको महाशाखाले जनाएको छ।
उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएका छन्। अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरेर प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस