after_navbar

अम्बिकेश्वरीमा अक्सिजन सुविधासहितका एसी बस सञ्चालन


१३ घण्टा अगाडि


दाङ। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले यात्रुलाई थप सुविधासहितको सेवा दिने उद्देश्यले अक्सिजन सुविधासहितका तीनवटा एसी एयर सस्पेन्सर बस सञ्चालनमा ल्याएको छ।

प्रालिले आइतबार विशेष समारोह आयोजना गरी नयाँ बसको उद्घाटन गरेको हो। प्रालिका अध्यक्ष घनश्याम बस्नेतका अनुसार बसमा १६ वटा सिंगल सिट, १९ वटा डबल सिट र आठवटा स्लिपर सिट छन्। यात्रुको सहजताका लागि बसमा शौचालयको व्यवस्था गरिएको छ भने एउटा सिटमा अक्सिजन सुविधा उपलब्ध गराइएको छ।

बसमा प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत राखिएको अध्यक्ष बस्नेतले जानकारी दिए।। यात्रुलाई यात्रा अवधिमै आवश्यक पर्दा प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्यले यातायात व्यवसाय नाफा कमाउने माध्यम मात्र नभई नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने क्षेत्र पनि भएको बताए। करोडौँ रुपैयाँ लगानी गरेर सेवा दिइरहेका यातायात व्यवसायीलाई हेपाहा दृष्टिले हेर्ने प्रवृत्ति उचित नभएको उल्लेख गर्दै उनलेअन्य व्यवसायसरह यातायात व्यवसायलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिए।

अम्बिकेश्वरी यातायातले हरेक वर्ष सुविधासम्पन्न सवारीसाधन थप्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ आधुनिक र सुविधायुक्त बस सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

कार्यक्रमको सहजीकरण प्रालिका कोषाध्यक्ष भीम केसीले गरेका थिए। नयाँ बसका सञ्चालकहरूमा देवबहादुर बस्नेत, गोपाल कार्की र लोकबहादुर डाँगी रहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="