after_navbar

निजी स्वार्थका कारण कांग्रेसमा खेमा खडा भयो:नेता गिरि


१० घण्टा अगाडि


दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा महाधिवेशन लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले निजी स्वार्थका कारण कांग्रेसमा खेमा खडा भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तुलसीपुरमा भएको नियमित महाधिवेशन पक्षधरको नगर अधिवेशनका अवसरमा उनले यस्तो बताएका हुन् । अधिवेशनमा कांग्रेसलाई एकताबद्ध बनाउँदै नियमित र वैधानिक प्रक्रियाबाट महाधिवेशन अघि बढाउनुपर्नेमा उनको जोड थियो।

उनले पार्टीलाई विभिन्न रणनीतिमार्फत दुई धारमा विभाजन गर्ने प्रयास भएको दाबी गर्दै यसले पार्टीसँगै देशलाई समेत अप्ठ्यारो परिस्थितिमा पुर्‍याएको बताए।

प्रमुख अतिथि समेत रहेका गिरीले केन्द्रीय कार्यसमितिले निर्णय गरी आह्वान गरेको अवस्थामा मात्र विशेष महाधिवेशनको औचित्य हुने बताउँदै नियमित महाधिवेशन पक्षधरले वैधानिकताको पक्षमा संघर्ष जारी राख्ने धारणा राखे। उनले भने- ‘जानेर वा नजानेर हामी ओरालो लाग्दैछौँ, पार्टी र देशलाई खाल्डोमा हाल्दैछौँ,’।

क्षेत्र नं. ३ का महाधिवेशन संयोजक हेमन्तकुमार योगीले नेतृत्वले समयको आवश्यकता बुझ्न नसक्दा कांग्रेस दुई दिशामा गइरहेको बताए। पार्टी विधानलाई बेवास्ता गर्दै हचुवाका भरमा महाधिवेशन गरिएकाले वैधानिकताको प्रश्न उठेको उनको भनाइ थियो।

तरुण दल दाङका अध्यक्ष टीका घर्तीले पार्टीको उद्देश्य, अभियान र लक्ष्य सही भए थोरै कार्यकर्ताले पनि प्रभावकारी भूमिका खेल्न सक्ने बताए।

बीपी कोइरालाको नीति र विचारलाई आत्मसात् गर्दै कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेविसंघ दाङका पूर्व जिल्ला अध्यक्ष राजकुमार डाँगी, महाधिवेशन प्रतिनिधि केवलापति चौधरीलगायतले पनि धारणा राखेका थिए। पार्टीका ज्येष्ठ सदस्य भरतराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा विनोद पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए  भने सहजीकरण तरुण दल नगर सचिव अजय बुढाथोकीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="