after_navbar

सद्भावसहितको समाज निर्माण गर्नुपर्नेमा जोड


१३ घण्टा अगाडि


दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले वडादशैको अवसरमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ। समग्र वडाको जानकारी दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष माधव वलीले भौतिक विकासभन्दा सामाजिक सद्भावसहितको समाज निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

उनले मानवीयता र पारिवारिक मेलमिलापसहितको समाज निर्माण गर्न सकेमात्र विकास निर्माणका कामले औचित्य पाउने बताए। “कंक्रिटको गन्ध होइन, मान्छेको बास्ना आउने समाज निर्माण गर्नुपर्छ,” उनले भने।

विकासभन्दा विनासको परिपाटी बनेको गुनासो गर्दै उनले बनेका भौतिक संरचनाको संरक्षण गर्न नागरिक उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । मन्दिर, सडक,कुलो जस्ता पूर्वाधारहरु फुटाउने,भत्काउने काम भैरहेको भन्दा यस्ताखाले अराजक गतिविधि नगर्न/नगराउन नागरिकलाई आग्रह समेत गरेका छन् ।

दुई कार्यकाल जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव सुनाउँदै वलीले आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताए। समाजमा बढ्दो अराजकता अन्त्य गर्न सांस्कृतिक तथा पारिवारिक मेलमिलापको संस्कार विकास गर्दै मानवीय सम्बन्ध बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले तुलसीपुर-१८ ले भौतिक पूर्वाधार विकाससँगै प्रकृति संरक्षणमा पनि उल्लेखनीय काम गरेको बताए। उनले सिँचाइका लागि तालतलैया निर्माण गर्नुका साथै प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनु सकारात्मक भएको उल्लेख गरे।

धनखन्ने रानी तालमा गरिएको उक्त कार्यक्रममा सहभागीहरुले वडाको विकास र सामाजिक रूपान्तरणका विषयमा छलफल गर्दै भौतिक विकाससँगै मानवीय मूल्य र सामाजिक सद्भावलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्। कार्यक्रम वडा अध्यक्ष वलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="