after_navbar

आगलागी हुँदा हापुरेका तीन पसलमा क्षति


२ घण्टा अगाडि


दाङ । पश्चिम दाङको बबई गाउँपालिका-५ हापुरे बजारमा बुधवार बेलुका आगलागी हुँदा तीन पसलमा क्षति पुगेको छ।

स्थानीय खिमबहादुर सोमैको घरमा राति साढे ८ बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।

आगलागीबाट बबई-४ की गौरी घर्तीले सञ्चालन गरेको सारिका शृङ्गार पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यस्तै, नजिकैको हरिप्रसाद पौडेलको घरमा भोमप्रसाद भण्डारीले सञ्चालन गरेको ओम गंगा किराना पसलका करिब ८० प्रतिशत सामान जलेका छन्। सहिता खातुनको सकिल कस्मेटिक स्टोरका सामानमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरे पनि तत्काल नियन्त्रणमा लिन सकेनन्। घोराही उपमहानगरपालिकाबाट दमकल बोलाइएको र आगलागी भएको झन्डै दुई घण्टापछि राति पौने ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको डीएसपी केसीले बताए।

पश्चिम दाङका चारवटै पालिकामा दमकल नहुँदा आगलागीका घटनामा समस्या हुने गरेको छ। तुलसीपुर उपमहानगरपालिकाको दमकल गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा पूर्ण रूपमा जलेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="