दाङ। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीक मानिने सिंहले प्रधानमन्त्री बन्ने अवसरसमेत त्यागेर कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए। जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै उनले त्यागको उदाहरण प्रस्तुत गरेका थिए।
सिंहको जन्म १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो। उनको निधन २०५४ साल असोज २ गते भएको हो। उनले प्रजा परिषद्मार्फत राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय हुँदै नेपाली कांग्रेसको स्थापना र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चाबाट सशस्त्र संघर्ष गरेका सिंहले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष जेल जीवन बिताएका थिए। २०२५ सालमा जेलमुक्त भएपछि बीपी कोइरालासँग भारत निर्वासनमा गएका उनी २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए।
बीपी कोइरालाको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा सिंहले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए। २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग सहकार्य गर्दै पञ्चायतविरुद्ध आन्दोलनको नेतृत्व गरेपछि उनी सर्वोच्च कमाण्डर बनेका थिए।
जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका दुवै समूह, भ्रातृ तथा शुभेच्छुक संस्था र गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
प्रतिक्रिया दिनुहोस