काठमाडौ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए। मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पूर्ववत् आईजीपी पदमा कायम गर्न तथा मनोज केसीलाई आईजीपीका रूपमा कामकारबाही गर्न रोक लगाउन अन्तरिम आदेशको माग उनले गरेका छन्।
आफ्नो कार्यकाल बाँकी रहँदै कानुनविपरीत पदबाट हटाइएको दाबी कार्कीको छ। सरकारले कुनै स्पष्टीकरणको अवसर नदिई हटाएको भन्दै उनले प्राकृतिक न्यायको सिद्धान्तसमेत उल्लंघन भएको रिटमा उल्लेख गरेका छन्।
कार्कीले आफूलाई पूर्ववत् पदमा कायम राख्दा सरकारलाई कानुनी क्षति नहुने जिकिर गर्दै प्रहरी संगठनमा दुई आईजीपीस्तरका पदाधिकारी रहँदा आदेश शृंखलामा अन्योल सिर्जना हुने भएकाले त्यसको अन्त्य गर्नुपर्ने मागसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस