दाङ, ४ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकले लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाउदै प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।
प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरे लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले बनाएको मापदण्डहरु मान्न तयार भइसके पछि टिकटकलाई प्रतिबन्ध लगाइराख्नु नपर्ने मत प्रधानमन्त्रीको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, अब यो प्रतिबन्ध लामो समय राख्न नहुने पक्षमा प्रधानमन्त्री नै हुनुहुन्छ, छिट्टै मन्त्रिपरिषद्बाट प्रतिबन्ध फुकुवाको निर्णय हुनसक्छ।’ टिकटकको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेस सँग सहमति समेत खोजेको र कांग्रेस सकारात्मक देखिएकाले टिकटकको प्रतिबन्ध हट्नसक्ने स्रोतको दाबी छ ।
करिब ९ महिनाको अवधिमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै ८ वटा पत्र पठाइसकेको छ । टिकटकले नेपालको हरेक कानुनी प्रावधान आफूहरुका लागि स्वीकार्य रहेको ब्यहोराको पत्र पठाएपछि यस वारे प्रधामनन्त्रीसँग छलफल भएको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस