दाङ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर समितिको आयोजनामा सञ्चालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योति मावि तुलसीपुरले जितेको छ। नेपाली काङ्ग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि तुलसीपुर ३ / ० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतिले उपाधि चुमेको हो । उपाधिसँगै उसले नगद एक लाख पाँच हजार, रुपैयाँ पुरस्कार पाएको छ । अरनिको उपविजेतामा सीमित रहँदै नगद नगद ६५ हजार, रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै हेलो मोबाइल ‘ए’ तुलसीपुरले तृतीय स्थान हात पार्यो ।
तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र बिस्तारमा अतुलनीय योगदान पुर्याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उद्देश्यले कार्यक्रमको आयो जना गरिएको नगर सभापती सुरेश हमालले बताए । प्रतियोगितामा वेस्ट प्लेयर खेलाडी ज्ञानज्योतिका हेमन्त मल्ल भए । उनले नगद ३५ सय र ट्रफी प्राप्त गते । त्यस्तै वेस्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेस्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा, वेस्ट सेटर ज्ञानज्योतिका सुवास कवर ,वेष्ट लिब्रो ग्रेट अरनिको का अभिषेक वली र वेस्ट सर्भर ज्ञानज्योतिका मनिष मानन्धर लाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म सञ्चालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोह नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय दीपक गिरीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ ‘ख’ का सभापति खिम बहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काग्रेस तुलसीपुर नगर सचिव विमल पौडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस