काठमाडौं,१२ पुस। पत्रकारितामा आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। प्रेस काउन्सिलले पत्रकार आचार संहिता उल्लङ्घन गरेका दुई अनलाइन सञ्चारमाध्यम डिओपोष्ट डट्कम र हेर्दाहेर्दै डट कमलाई कालोसूचीमा राखी कारबाही गरेको हो।
दियोपोष्टले व्यक्तिको चरित्र हत्या गर्ने, धम्कीपूर्ण व्यवहार गर्ने, र बार्गेनिङ गर्ने जस्ता काम गरेको भन्दै कारबाही गरिएको हो। यसविरुद्ध चार महिनामा आठ उजुरी परेका थिए।
त्यस्तै, हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको थियो। निर्देशन अटेर गरेपछि यसलाई पनि कालोसूचीमा राखिएको हो।
दसैँयता नौ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएकोमा लिखित प्रतिबद्धता जनाएपछि एक सञ्चारमाध्यमको कारबाही फुकुवा भएको छ। काउन्सिलले मर्यादित पत्रकारिता प्रवर्द्धन गर्न मापदण्ड र कार्यविधि निर्माण गरी सक्रियता बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस