after_navbar

नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न


पुष २७, २०८१


दाङ,२७ पुस। नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न भएको छ। शिक्षक संघ तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष घनश्याम डागीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा संघको आठौं प्रतिनिधि सभा सम्पन्न भएको हो।

सो अवसरमा बोल्ने सहभागीहरूले गुट उपगुडको भावनाको अन्त्य गर्दै एकता र सहकार्य अगाडि बढाउनुपर्ने बताएका थिए। उनीहरुले शिक्षक संघका सबै शुभेच्छुक संस्थाहरू एकजुट हुनुपर्ने र संघलाई थप प्रभावकारी बनाउन पारदर्शी र समावेशी कार्यशैली आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा शिक्षक संघका पदाधिकारी, सदस्य, र विभिन्न शिक्षण संस्थाका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको हकहितको संरक्षणका लागि संघको भूमिका महत्वपूर्ण रहेको बताए।

उनीहरूले गुटबन्दीले संघभित्रको एकतालाई कमजोर पार्ने भएकाले यसलाई समाप्त गरेर साझा उद्देश्यका लागि सबै सदस्यहरू सक्रिय हुनुपर्नेमा जोड दिए।

सभामा संघले हालसम्म गरेका कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराइएको थियो।

प्रतिनिधिसभामा शिक्षकहरूको सामाजिक सुरक्षाका मुद्दा, पेशागत मर्यादा, र शिक्षा क्षेत्रको समग्र सुधारका विषयमा छलफल भएको थियो। सहभागीहरूले संघले स्थानीय, प्रदेश, र संघीय तहमा आफ्नो आवाज सशक्त बनाउन रणनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

सो अवसरमा अवकाश प्राप्त शिक्षकहरू र शिक्षण पेशामा रहेर विभिन्न संघसंस्थामा प्रतिनिधित्व गरेका शिक्षकहरू साथै शिक्षण पेशामा आबद्ध भएका नयाँ शिक्षकहरुलाई बधाई तथा सम्मान समेत प्रदान गरिएको थियो। कार्यक्रम को सहजीकरण संस्थाका सचिव एकराज भण्डारीले गरेका थिए

प्रतिक्रिया दिनुहोस

data-href="