after_navbar

आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु


जेठ २१, २०८२



काठमाडौं २० जेठ । भारतको पूर्वी राज्य आसाममा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १२ सयभन्दा बढी गाउँ डुबानमा परेका छन्।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (ASDMA) का अनुसार २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको चपेटामा परेका छन्। बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ जिल्लामा पुगेको बताइएको छ। पछिल्लो २४ घण्टामा मात्र दुई जनाको डुबेर मृत्यु भएको जानकारी दिइएको छ।

ASDMA का अनुसार २ जुन साँझदेखि अहिलेसम्म करिब २ लाख मानिस बाढीपहिरोबाट प्रभावित भएका छन्। तीमध्ये ३२ हजारको हाराहारीमा घर पूर्ण रूपमा डुबानमा परेका छन्। पीडितका लागि स्थानीय प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविर सञ्चालनमा ल्याएको छ।

बाढीको अवस्था गम्भीर बन्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सँग टेलिफोन संवाद गरी अवस्थाबारे जानकारी लिएका छन्। मोदीले केन्द्र सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिएका छन्।

उत्तरपूर्वका अन्य राज्य पनि प्रभावित
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विगत पाँच दिनदेखिको लगातार वर्षाले भारतका धेरै उत्तरपूर्वी राज्यहरूमा पनि बाढी र पहिरोका घटना भएका छन्। आसाम बाहेक मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेशमा पनि ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="