दाङ,२६ असार । मलेसियामा सम्पन्न एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका दाङका दुई खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदले विशेष सम्मान गरेको छ।
नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दाङका खेलाडी शुभम खनाल , सहायक प्रशिक्षक सञ्जु क्षेत्री र कपिलवस्तुका रौनक श्रीवास्तवलाई सम्मान गरेको हो।
खनाल र कपिलवस्तुका रौनक श्रीवास्तवलाई जनही १ लाख रुपैयाँ र क्षेत्रीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए।
राप्ती उपत्यका, देउखुरीमा बिहीबार आयोजित एक कार्यक्रममार्फत नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ, प्रदेश परिषदका सदस्य कैलाश रोका मगर लगायतको उपस्थितिमा उनीहरूलाई सम्मान गरियो।
दाङका शुभम खनालले प्रतियोगितामा १२ विकेट लिँदै विपक्षी टोलीहरूलाई दबाबमा राखेका थिए। सहायक प्रशिक्षक क्षेत्रीले प्रतियोगिता अवधिभर खेलाडीको मनोबल उच्च राख्न प्रेरणादायी भूमिका खेलेका थिए।
कपिलवस्तुका रौनक श्रीवास्तवले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाउँदै ‘सर्वोत्कृष्ट खेलाडी’को उपाधि हात पारेका थिए।
खेलाडी शुभम खनालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उपाधि जित्न पाउनु गर्वको कुरा भएको र यसले थप जिम्मेवारीको बोध गराएको प्रतिक्रिया दिए।
गत असार ८ गतेदेखि मलेसियामा आयोजित प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो।
प्रतियोगितामा मलेसिया, सिङ्गापुर, इन्डोनेसिया, भूटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमारका टिम सहभागी थिए। नेपालले यसअघि २०१७, २०१९ र २०२३ मा पनि उपाधि जितिसकेको छ।
यस सम्मानले लुम्बिनी प्रदेशको प्रतिभा उजागर हुनुका साथै क्रिकेटको विकासमा पनि सकारात्मक सन्देश पुगेको आयोजकहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस