after_navbar

लामिछाने हत्या प्रकरणमा टेकबहादुरलाई आजीवन कारावास


असार ३१, २०८२


दाङ, ३१ असार। दाङमा एक महिलाको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा जिल्ला अदालत दाङले एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ।

तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमाललाई अदालतले ४२ वर्षीया रिता लामिछानेको हत्या गरेको प्रमाणित ठहर गर्दै सोमबार पाँच लाख रुपैयाँ जरिवानासहित आजीवन कारावासको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले हमालमाथि दोष सिद्ध भएको निर्णय सुनाएको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो। अभियुक्त हमालले २०८० असोज ६ गते बिहान लामिछानेमाथि खुकुरी प्रहार गरेका थिए। घरमै काम गरिरहेकी लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसै दिन हमालले सोही वडाकी ६५ वर्षीया कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए। बारीमा काम गरिरहेकी कमलाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीले हमाललाई घटनाको केही घण्टापछि घरबाटै पक्राउ गरेको थियो। कार्तिक १२ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई अदालतमा सुनुवाइ सुरु भएको थियो। बहस र प्रमाणका आधारमा अदालतले उनलाई बाँकी जीवन कारागारमै बिताउनुपर्ने फैसला गरेको हो।

अदालतको निर्णयसँगै हमालले अब आजीवन कैद भोग्नुका साथै पाँच लाख रुपैयाँ जरिवाना पनि तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

data-href="