दाङ,१७ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएको छ। मनसुन सक्रिय भएसँगै वर्षा बढ्ने क्रम जारी रहेकाले ३७ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार काठमाडौ उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी (पूर्व/पश्चिम), रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुरलगायत जिल्लामा स–साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आज दिउँसो पहाडी क्षेत्रमा धेरै ठाउँमा तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुन पूर्ण सक्रिय रहेको र भोलिसम्म देशभर वर्षा जारी रहने सम्भावना छ। उनले अत्यावश्यक कामबाहेक पहाडी सडकमा यात्रा नगर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस