after_navbar

संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु


श्रावण ११, २०८२


दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको शालिकमा भने नेताहरूको उपस्थिति देखिएन।

स्मृति दिवसको अवसरमा काँग्रेस दाङले दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्य रहेको थियो।

उक्त कार्यक्रमका लागि नेताहरू तुलसीपुरको विपी चोक हुँदै दंगीशरण गएका थिए। तर, विपी चोकको शालिकमा कसैले माल्यार्पण गरेनन्। काँग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण) का अनुसार बिहान नेताहरू व्यस्त रहे पनि साँझमा माल्यार्पण हुने अपेक्षा गरिएको थियो। तर, दुई दिनसम्म पनि कोही नेता माल्यार्पणका लागि शालिकमा पुगेनन्।

यो बेवास्ता काँग्रेसका युवाहरूलाई खट्कियो। अन्ततः नेपाल लोकतान्त्रिक खेलकुद संघ तुलसीपुर नगर कार्यसमितिको अगुवाइमा साउन १० गते विहान युवाहरू आफैंले विपीको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। साथै, शालिकमा नेपाली काँग्रेसको झण्डा फहराइयो।

कार्यक्रमको अध्यक्षता संघका नगर अध्यक्ष धनराज रोकाले गरेका थिए। कार्यक्रममा काँग्रेसका युवा नेता बिमल रिजाल, नेता सुरेन्द्रबहादुर खड्का, महासमिति सदस्यहरू टीकाराम घर्ती, ऋषिराज लहरे (अरुण), तुलसीपुर उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष बेदबहादुर केसी, नेपाल तरुण दल दाङका सदस्य नेत्र गिरी (वसन्त), नगर उपाध्यक्ष केशव भुसाल, केशव चौधरी (मिग्मा) लगायतको सहभागिता थियो।

नेताहरूको अनुपस्थितिमा युवाहरूले विपीको योगदान सम्झिएर जिम्मेवारी निभाएका छन्। तर, संस्थापक नेताप्रति गरिएको यस्तो बेवास्ता काँग्रेस भित्रकै अनुशासन, मर्यादा र आदर्शप्रतिको प्रतिबद्धता कति बलियो छ भन्ने प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="