काठमाडौं,१४ साउन ।दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध अभियोजन पक्षले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको छ। सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नहुँदा विशेष अदालतले बुधबार औपचारिक रूपमा पक्राउ अनुमति दिएको हो।
अभियोजन पक्षका अनुसार युनले संसदमा सेनाको प्रयोग गरी नियन्त्रण लिने प्रयास गर्दै गत डिसेम्बर ३ मा मार्शल कानून लागू गर्ने घोषणा गरेका थिए। नागरिक शासन अन्त्य गरी सैनिक शासन पुनःस्थापित गर्ने प्रयासका कारण उनीमाथि विद्रोहको मुद्दा चलाइएको हो।
पटक–पटकको विरोधपछि उनी जनवरीमा पक्राउ परेका थिए र दक्षिण कोरियाको इतिहासमा पक्राउ पर्ने पहिलो कार्यरत राष्ट्रपति बनेका थिए। प्रमाण नष्ट गर्ने आशंकामा उनलाई राष्ट्रपति पदबाट निलम्बनसमेत गरिएको थियो। युनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो, तर जुलाईको सुरुमा पुनः हिरासतमा लिइएको थियो।
संसदीय चुनावमा धाँधली भएको आरोपमा अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि दुई पटक बोलाएका थिए। तर उनी दुबै पटक उपस्थित हुन अस्वीकार गरेका थिए। विशेष अभियोजक कार्यालयका ओह जियोङ हीका अनुसार, दोस्रो पटकको आदेश पनि उल्लंघन भएपछि अदालतले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको हो।
पक्राउ पुर्जी जारी भएपछि अब अभियोजन पक्षले उनलाई जबर्जस्ती उपस्थित गराई सोधपुछ गर्न कानुनी अनुमति पाउनेछ।
पूर्वराष्ट्रपति युनका साथै उनकी पत्नी एवं पूर्व प्रथम महिला किम किन हीविरुद्ध पनि अनुसन्धान भइरहेको छ। अभियोजन पक्षका अनुसार, युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले किमलाई हिराको हार र महँगो ह्यान्डब्याग दिएका थिए, जसले भ्रष्टाचारको आशंका बढाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस