after_navbar

जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड


श्रावण २२, २०८२


दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो।

ad


उक्त कार्यक्रममा आयोजनाको प्रभावकारिता चुनौती स्थानीय सहभागिता र वातावरण मैत्री विकासको विषयमा छलफल समेत गरिएको थियो।

कार्यक्रममा डिभिजन प्रमुख कृष्णबहादुर विकले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका योजना र कार्यक्रमबारे जानकारी गराएका थिए। प्रगति विवरणको बारेमा जानकारी गराउँदै उनले सिँचाइ क्षेत्रको विकाससँगै देखिएको यथार्थ र जटिलताहरूको प्रस्तुति गरेका छन् ।

उनले केही योजनाहरू स्रोतमै पानीको उपलब्धता नहुँदा प्रभावहीन बनेको स्वीकार गरे। उनका अनुसार, सम्भाव्यता अध्ययन नगरी केवल निवेदनका भरमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा योजनाहरू बीचमै अलपत्र पर्ने, अपेक्षित परिणाम नआउने समस्या देखिने समस्या रहेको बताए ।

राज्य पुनःसंरचनापछि सिँचाइ पूर्वाधार विस्तारमा तीव्र गति आएको उनले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ११२ वटा बाँध/मुहान सिँचाइ, १४४ वटा पक्की कुलो, ६७ वटा लिफ्ट सिँचाइ, ६७ वटा पम्प हाउस निर्माण भइसकेका छन्।

यस्ता संरचनाहरूले करिब ७ हजार छसय ३२ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गर्दै छहजार पाँचसय ४९ घरधुरीमा सिँचाइ सुविधा पुर्‍याएको छ भने १२ हजार तीनसय हेक्टर जमिन उत्पादन योग्य बनाइएको छ।

अघिल्लो आर्थिक वर्षमा मात्र मझौला तथा वैकल्पिक प्रविधिमा आधारित ६ वटा योजना सम्पन्न भए जसबाट ५५९ घर लाभान्वित भएका छन्। यस्तै ३०३६.७० हेक्टर जमिन सिँचाइ क्षेत्रभित्र आएको र ८५८ घर तटबन्धबाट सुरक्षित भएका छन्। जलासय निर्माण, पोखरी संरक्षण र जल प्रकोप न्यूनीकरणतर्फ पनि ठोस कामहरू भएको विवरणमा उल्लेख छ।

कार्यक्रममा विकासको लयले सबैलाई सन्तुष्ट बनाउन नसकेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए।

पत्रकार नारायण खड्का, दीपक बोहरा, सुशील बस्नेतलगायत सहभागीहरूले पहुँचका आधारमा योजना चयन नगर्ने/नगराउन आग्रह गरे।

खड्काले विकासका नाममा जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा असर नपर्ने खालका संरचना निर्माणमा जोड दिनुपर्ने बताए। “कंक्रिट संरचनाले सतह सिँचाइ प्रणाली र जैविक विविधतामा प्रत्यक्ष असर पारिरहेको छ,” उनले भने।

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सिँचाइ संरचनाको महत्त्व औंल्याए। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकाल, वडा नं. ११ का अध्यक्ष खुसीराम थारु र वडा नं. ५ का अध्यक्ष मोहन पौडेलले तटबन्ध र बाँध निर्माणले खेती मात्र नभई बाढीको जोखिम न्यूनीकरणमा पनि ठूलो टेवा पु-याएको बताए। उनीहरूले पुलसम्म तटबन्ध नजोडिँदा अझै ६५ घर जोखिममा रहेको चेतावनी पनि दिए।

डिभिजन प्रमुख विकले बहुवर्षीय योजनाको अध्ययन नगरी ल्याइने योजनाहरूले प्रगतिको निरन्तरता तोड्ने र स्रोत खेर जाने खतरा रहेको पनि बताए। यसपटक तटबन्ध र जाली वितरणका लागि प्रदेश सरकारले ३२ करोड ७३ लाख रुपैयाँ बजेट दिएको थियो, भने आगामी वर्षका लागि ३२ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए।

सिँचाइ योजनाहरूको उपलब्धि मात्र होइन, ती योजनाका सम्भाव्यता, पहुँच, स्थानीय सन्तुलन र वातावरणीय प्रभावलाई ध्यानमा राख्दै आगामी योजनाहरू सम्पूर्ण हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="