after_navbar

युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित


भदौ ०, २०८२


काठमाडौं ,९ भदौ । युक्रेनले हालै गरेको ड्रोन आक्रमणमा रूसका विभिन्न महत्वपूर्ण संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ad

रिपोर्टअनुसार, युक्रेनले एकैपटक ९५ वटा ड्रोन खसालेको छ। तीमध्ये एक ड्रोन सीमाबाट करिब ६० किलोमिटर टाढा रहेको कुर्स्क परमाणु केन्द्रमा खसेर सहायक ट्रान्सफर्मरमा क्षति पुर्‍याएको हो। आक्रमणपछि परमाणु भट्टीको उत्पादन क्षमता ५० प्रतिशतले घटेको जनाइएको छ। प्लान्टले भने विकिरण स्तर सामान्य रहेको र मानवीय क्षति नभएको स्पष्ट पारेको छ।

यस्तै, लेनिनग्राद क्षेत्रको फिनल्याण्ड खाडी किनारस्थित उस्ट–लुगा बन्दरगाहमा पनि कम्तीमा १० वटा ड्रोन खसालिएको छ। नोभाटेक कम्पनीद्वारा सञ्चालित इन्धन टर्मिनलमा टुक्रा परेर भीषण आगलागी हुँदा आकाशमा बाक्लो कालो धुवाँ देखिएको बताइएको छ। सो टर्मिनलमार्फत चीन, सिंगापुर, ताइवान, मलेशिया लगायतका मुलुकमा नाफ्था, हवाई इन्धन तथा अन्य पेट्रोलियम पदार्थ आपूर्ति हुने गर्दछ।

त्यस्तै, दक्षिणी रूसी शहर सिजरानमा भएको अर्को आक्रमणमा एक बालक घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। यसअघि यही क्षेत्रमा रहेको रोसनेफ्ट तेल प्रशोधन कारखाना युक्रेनी आक्रमणपछि बन्द गर्नुपरेको थियो।

संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले कुर्स्क परमाणु केन्द्रमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै युद्धबीचमा पनि परमाणु संरचनाहरू सुरक्षित हुनुपर्नेमा जोड दिएको छ।

युद्धको समाधानका लागि शान्ति वार्ता गर्ने चर्चा भइरहे पनि युक्रेन–रूसबीचको द्वन्द्व अझै तीव्र बन्दै गएको छ। अब आक्रमण मोर्चासँगै दुबै मुलुकका भित्री भागसम्म फैलिएको देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरी युद्ध अन्त्यका उपायबारे छलफल गरेका थिए। यद्यपि, रूसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्ने चासो देखाएको छैन। ट्रम्पले पुटिनलाई दुई साताभित्र वार्ता टेबलमा बस्न अल्टिमेटम दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="