after_navbar

अफगानिस्तान भूकम्पः ८ सयभन्दा बढीको मृत्यु, ३ हजारभन्दा बढी घाइते


भदौ १६, २०८२


काठमाडौं , १६ भदौ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८१२ पुगेको छ भने तीन हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। पूर्वी प्रान्त कुनार र नंगरहार केन्द्रबिन्दु भएकाे भूकम्प ६ म्याग्निच्युड मापन गरिएको हो। भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्पहरू महसूस गरिएका छन्।

ad

तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भूकम्पले सिर्जना गरेको मानवीय संकटका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्। समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, “हामीलाई सहयोग आवश्यक छ, किनभने यहाँ धेरै मानिसहरूले ज्यान गुमाएका छन् र घरहरू भत्किएका छन्।”

तर अहिलेसम्म कुनै पनि देश वा अन्तर्राष्ट्रिय संस्थाले उद्धार वा राहत सहयोगको प्रस्ताव नगरेको अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ। हाल उद्धारकार्य जारी रहेको र ३० जना चिकित्सक प्रभावित क्षेत्रमा परिचालित गरिएको मन्त्रालयले जनाएको छ।

अल जजीराका अनुसार ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनार पठाइएको छ। भूकम्पबाट विशेषगरी दुर्गम हिमाली गाउँहरूमा माटो र ढुंगाबाट बनेका घरहरू ध्वस्त भएका छन्। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ती क्षेत्रमा मोबाइल सञ्जालसमेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले पीडितलाई सहायता गर्न तयारी गरिरहेको जनाएका छन्। राष्ट्रसंघका अनुसार अफगानिस्तानको आधाभन्दा बढी जनसंख्यालाई तत्काल मानवीय सहायता आवश्यक छ।

भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजानलगायत देशहरूले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। तीमध्ये चीनले अफगानिस्तानको आवश्यकता अनुसार र आफ्नो क्षमताभित्र सहयोग गर्न तयार रहेको बताएको छ।

स्थानीय मानव अधिकारकर्मीका अनुसार दुई वर्षअघि हेरात सहरमा गएको भूकम्पपछि धेरै गाउँमा अझै अस्थायी टहरामा बसोबास भइरहेको छ। यसपटकको भूकम्पले ती क्षेत्रहरूलाई पुनः संकटमा पारेको छ।

हिन्दुकुश पर्वतश्रृंखलामा पर्ने अफगानिस्तान भारतीय र युरेसियन टेक्टोनिक प्लेटको सङ्घर्षस्थल भएकाले भूकम्पको उच्च जोखिममा पर्दछ। सन् २०२२ मा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा झन्डै १ हजार जनाको मृत्यु भएको थियो। गएराति गएको भूकम्प त्यसयताकै सबैभन्दा शक्तिशाली मानिएको छ।

गृहयुद्धपछि पुनर्निर्माणको प्रयासमा रहेको अफगानिस्तान अहिले मानवीय संकटसँग जुधिरहेको छ। तालिबानको महिलासम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले सहायता कटौती गरेपछि देश झनै संकटमा परेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="