काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदै ऐरीलाई तेस्रो स्थानमा धकेलेका हुन्। पहिलो स्थान भने भारतका हार्दिक पाण्ड्याले जोगाइरहेका छन्।
चौथो स्थानमा वेस्टइन्डिजका रोस्टन चेज स्थिर छन् भने इङ्ल्यान्डका लियम लिभिङ्स्टोन पाँचौँ स्थानमा कायम छन्।
नेपालका अन्य खेलाडीहरूको वरीयता पनि सार्वजनिक भएको छ। अलराउन्डरमा कुशल भुर्तेल ३४ औँ स्थानमा यथावत् छन् भने गुल्सन झा ५९ औँ स्थानमा छन्। कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ७० औँ स्थानमा पुगेका छन्। त्यस्तै, कुशल मल्ल ७१ औँ स्थानमा र करण केसी ८९ औँ स्थानमा झरेका छन्।
प्रतिक्रिया दिनुहोस