काठमाडौं ,२ असोज ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै मोदीले हालै भएको दुखद घटनाप्रति समवेदना प्रकट गर्दै नेपालमा शान्ति र स्थिरता कायम गर्ने कार्कीको प्रयासप्रति भारतको दृढ समर्थन रहने बताएका छन्।
उनले भने, “नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दु:खद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासलाई भारतले पूर्ण समर्थन गर्दछ।”
मोदीले कार्कीलाई आगामी राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना पनि दिएका छन्। साथै, जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षति विषयमा समेत दुवैबीच चर्चा भएको जनाइएको छ।
यसअघि मोदीले सामाजिक सञ्जाल र मणिपुरमा आयोजित कार्यक्रममा पनि कार्कीलाई बधाई दिएका थिए।
प्रतिक्रिया दिनुहोस