दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ।
संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले हस्ताक्षर गरेका संयुक्त सन्देशमार्फत संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा स्मरण गरिएको छ।
सन्देशमा भनिएको छ, “संविधानले हामी सबैलाई समान अधिकार, अवसर र सामाजिक न्यायको ग्यारेन्टी दिएको छ। यसको प्रभावकारी कार्यान्वयन हाम्रो साझा जिम्मेवारी हो।”
शिक्षामा गुणस्तर वृद्धि गर्दै समान पहुँच सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, विद्यार्थीलाई राष्ट्रिय एकता र सामाजिक सद्भावको अभियन्ता बनाउन शिक्षालयहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
“हाम्रो मुलुकको समृद्ध भविष्य शिक्षामा निहित छ। संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्दै शिक्षा, शान्ति र विकासतर्फ एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता अझ बढेको छ,” सन्देशमा उल्लेख छ।
संविधान दिवसलाई राष्ट्रिय एकता, सहकार्य र सकारात्मक सोचका साथ मनाउनुपर्ने भन्दै आगामी दिनमा संविधानले मार्गदर्शन गर्ने मूल्य–मान्यताहरू आत्मसात् गर्दै नेपाललाई शैक्षिक, सामाजिक र आर्थिक दृष्टिले समृद्ध बनाउन सबैलाई हातेमालो गर्न आह्वान गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस