काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्।
उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरेका छन्।
दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था हुने मन्त्री पुनले बताए। निर्धारित समयभित्र नतिजा नदिने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी पनि उनले दिएका छन्।
तेस्रो निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र रहेका झाडी फाँडेर (ठूला रुख नकटाई) सफा गर्ने, आकर्षक बगैँचा र फुटपाथ निर्माण गर्ने कार्य अघि बढाइनेछ।
मन्त्री पुनका यी निर्णयलाई शिक्षा क्षेत्रमा सुधारतर्फको तत्कालीन पहलका रूपमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस