after_navbar

औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


असोज १०, २०८२


काठमाडौं,१० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो अक्टोबर १ देखि लागू हुने गरी आयातित औषधि, किचन क्याबिनेट, बाथरुम भ्यानिटी, गद्देदार फर्निचर र मालवाहक ट्रकलगायत वस्तुमा नयाँ आयात कर ९ट्यारिफ० लगाउने घोषणा गरेका छन्।

ad

उनका अनुसार औषधिमा १०० प्रतिशत, किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० प्रतिशत, फर्निचरमा ३० प्रतिशत र ट्रकमा २५ प्रतिशत आयात कर लागू हुनेछ। ट्रम्पले बिहीबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत यसबारे जानकारी दिएका हुन्।

ट्रम्पले औषधिमा लगाइने नयाँ कर अमेरिकामा उत्पादन प्लान्ट निर्माण गरिरहेका वा निर्माण सुरु गरिसकेका कम्पनीलाई भने लागू नहुने स्पष्ट पारेका छन्। तर, पहिले नै अमेरिकामा कारखाना सञ्चालन गरिरहेका कम्पनीलाई छुट दिने वा नदिनेबारे अझै स्पष्टता छैन।

अमेरिकी जनगणना ब्युरोका अनुसार, सन् २०२४ मा मात्रै अमेरिकाले करिब २३३ अर्ब डलरबराबरका औषधि तथा औषधीय उत्पादन आयात गरेको थियो। १०० प्रतिशत आयात कर लागू हुँदा औषधिको मूल्य दोब्बर हुने अनुमान गरिएको छ, जसले सर्वसाधारणको स्वास्थ्य खर्च बढाउने मात्र होइन, मेडिकेयर र मेडिकेड योजनामाथि समेत थप दबाब पार्ने बताइएको छ।

फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले पनि बढ्दो मूल्यवृद्धिले महँगीलाई थप चुल्याइरहेको चेतावनी दिएका थिए। ट्रम्पले भने आयात करले बजेट घाटा कम गर्ने र घरेलु उद्योगलाई प्रोत्साहन गर्ने दाबी गरेका छन्। तर, विज्ञहरूले भने यसले महँगी झन् बढाउने र आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

ट्रम्पको निर्णय विशेषगरी भारतको औषधि उद्योगमा प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ। अमेरिका भारतका औषधि उत्पादकका लागि सबैभन्दा ठूलो बजार हो। सन् २०२४ मा भारतले ३१ हजार ६२६ करोड भारुबराबरका औषधि अमेरिका निर्यात गरेको थियो भने सन् २०२५ को पहिलो ६ महिनामै यो आँकडा ३२ हजार ५०५ करोड भारु पुगेको छ।

यस्तो अवस्थामा १०० प्रतिशत कर लाग्दा भारतबाट निर्यात हुने सस्ता जेनेरिक औषधि समेत अमेरिकामा महँगो हुनेछन्। यसले डा। रेड्डीज, सन फार्मा, लुपिनलगायत प्रमुख कम्पनीलाई बढी असर गर्ने अनुमान गरिएको छ। ट्रम्पको नीतिले विशेषगरी ब्रान्डेड र पेटेन्ट गरिएका औषधिमा बढी प्रभाव पार्ने देखिएको छ भने जेनेरिक औषधि सम्बन्धी नीति अझै स्पष्ट छैन।

स्रोत: हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="