काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा स्थापना भएको क्याम्पस अहिले आन्तरिक स्रोतको अभावमा गुज्रिरहेको छ ।
क्याम्पस प्रमुख कृष्णकान्त आचार्यका अनुसार क्याम्पस सञ्चालनका लागि मासिक करिब रु चार लाख ५० हजार खर्च हुने गरे पनि आम्दानी न्यून छ । विद्यार्थीबाट उठ्ने शुल्क र ढोरपाटन नगरपालिकाले दिने रु नौ लाख ६० हजार अनुदानबाहेक अन्य कुनै आयस्रोत नभएको उनले बताए । हाल क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन विषयमा अध्ययनरत १२० विद्यार्थी छन् भने २४ जना ९पूर्णकालीन दुई र आंशिक २२० प्राध्यापक कार्यरत छन् ।
आचार्यले प्राध्यापकको तलब खुवाउनै कठिन हुने अवस्था आएको बताए । समुदायबाट चन्दा संकलन गरी सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थी संख्यामा कमी नभए पनि स्रोतसाधन अभावमा चुनौती थपिएको उनको भनाइ छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताए । तर, ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनासो छ । बजेट अभावमा गुणस्तरीय शिक्षक राख्न कठिन भएको भन्दै उनले केन्द्र तथा प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।
जिल्लाका अन्य क्याम्पस विद्यार्थीको कमीले बन्द हुने अवस्थामा पुगे पनि निसीभूजी जनता क्याम्पसमा विद्यार्थीको अभाव छैन । तर, आर्थिक स्रोत नहुँदा विद्यार्थीलाई महँगो शुल्क तिर्नुपर्ने अवस्था बनेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस