after_navbar

गाजामा जीवित रहेका नेपाली बिपिन जोशीको नाम : नयाँ सूची सार्वजनिक


असोज २६, २०८२


काठमाडौं,२६ असोज । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

ad

यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल र एपीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा बिपिन जोशीको नाम पनि समावेश गरिएको छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्य हुने संकेत देखिएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जना अपहरणमा परेका थिए।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ६७ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ, जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेका छन्।

२५१ मध्ये गाजामा अहिले ४८ बन्धक छन् भने २६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि समावेश छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये बिपिन जोशी फिर्ता हुने आशा नेपालले पालेको छ।

जोशी इजरायल पुग्नुअघि एक महिना अघि मात्र नेपालबाट गएका थिए। उनी गाजामा जीवित रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा उनी काम र कृषि अध्ययनका लागि पुगेका थिए। सो क्रममा १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो।

आक्रमणको बेला बिपिनले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरै साथीहरूलाई बचाएका थिए तर उनी आफैं घाइते भएर अपहरणमा परेका थिए।

हालै इजरायली सेनाले प्राप्त गरेको भिडियोमा बिपिनले आफूलाई परिचय दिँदै भनेका छन्,

“मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र कमाउन कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्दैछु।”

यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ। यसले उनी जीवित रहेको प्रमाण दिएको परिवारले दाबी गरेको छ।

बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले उनको रिहाइका लागि इजरायल पुगेर अपिल गरेका थिए। उनीहरूले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग पनि सहयोग मागेका थिए।

बिपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर, र मातान जंगाउकर छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="