काठमाडौं,२७ असोज । इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले यो जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई औपचारिक रूपमा गराएको हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, इजरायलस्थित नेपाली दूतावासले उक्त जानकारी मन्त्रालयलाई अनौपचारिक रूपमा पठाएको छ।
हमासले २०८० असोज २३ गते किबुट्ज अलुमिमबाट जोशीलाई अपहरण गरेको थियो। केही समयअघि जोशीको जीवित अवस्थाको भिडियो सार्वजनिक भएको थियो।
सोमबार हमासले आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत् इजरायलतर्फ हस्तान्तरण गर्दैछ।
विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपालबाट इजरायल पुगेका थिए।
गाजाको सीमामा अवस्थित किबुट्ज अलुमिममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो। उनीहरू बम आश्रयस्थलमा लुकेका थिए। हमलाका क्रममा फ्याँकिएका ग्रेनेडका कारण विपिन घाइते भएका र पछि हमासले उनलाई अपहरण गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस