after_navbar

जेनजी अगुवा भन्दै कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त


असोज २८, २०८२


काठमाडौँ, २८ असोज । ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा दैनिकजसो विभिन्न सरकारी कार्यालय पुग्ने जेन–जी आन्दोलनका एक समूहका सदस्य अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका मुद्दा लागेको खुलेको छ।

ad

अछाम पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही पछिल्लो समय नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालय पुगेर अधिकारीहरूलाई धम्क्याउने र राजीनामा माग्ने भिडियोहरू सार्वजनिक भएका छन्।

केही दिनअघि नागरिक उड्डयन प्राधिकरण पुगेका शाहीले महानिर्देशक प्रदीप अधिकारीसँग वादविवाद गर्दै राजीनामाको माग गरेका थिए। जहाज खरिद गर्ने अधिकार नभएको अधिकारीले स्पष्ट्याउँदा पनि शाहीले धम्कीपूर्ण शैलीमा कुरा अघि बढाएका थिए।

त्यसपछि उनीहरूको टोली नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेको थियो। अख्तियारमा भेट समय नपाउँदा शाहीले कर्मचारीमाथि चर्को आवाजमा गाली गर्दै “हामी विथआउट टाइमिङ हिँड्दैछौं” भन्दै जबर्जस्ती भेट माग गरेको भिडियो सार्वजनिक भएको छ।

तर, जेन–जी आन्दोलनको नाममा सक्रिय रहेका शाहीमाथि भने वैदेशिक ठगी र बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी उजुरीहरू दर्ता छन्। प्रहरी अभिलेखअनुसार, उनलाई २०८२ वैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रहरी वृत्त महाराजगंजले लेखेको पत्र ।
प्रहरी वृत्त महाराजगंजले लेखेको पत्र ।

त्यसअघि पनि उनीविरुद्ध श्रीकृष्ण फुयाल, रोजिना थापा र विद्या श्रेष्ठलगायतले चेक बाउन्सको उजुरी दिएका थिए। फुयालका अनुसार शाहीले रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसमार्फत क्यामेरा र कम्प्युटर लगेका थिए र त्यसको साटोमा दिएको तीनवटा चेक साटिन सकेका थिएनन्।

फुयालको उजुरीपछि रेड स्टारको बैंक खाता कालोसूचीमा परेको थियो। प्रहरी वृत्त महाराजगञ्जले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी दर्ता भएको पुष्टि गरेको छ।

यसअघि रोजिना थापाले १० लाख ३० हजार रुपैयाँको चेक बाउन्सको उजुरी दिएकी थिइन् भने विद्या श्रेष्ठले पनि १० लाख रुपैयाँ सापटी दिएर पाएको चेक असफल भएपछि प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

यस्ता ठगी र बैंकिङ कसुरका मुद्दा लागेका व्यक्ति अहिले ‘जनहित’का नाममा सरकारी कार्यालयमा धम्कीमूलक गतिविधि गर्दै हिँड्दा धेरैले आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="