काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ।
कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको आरोपपछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई प्रअ पदबाट हटाउने निर्णय गरेको हो।
अभिभावकहरूको तीव्र विरोधपछि आइतबारदेखि लगातार छलफल गर्दै आएका समितिका सदस्यहरूले सर्वसम्मत रूपमा राउतलाई जिम्मेवारीमुक्त गर्ने निष्कर्ष निकालेका थिए। व्यवस्थापन समिति अध्यक्ष कुबेर मगरका अनुसार, अभिभावक र स्थानीयवासीको माग अनुसार तत्काल कारबाही स्वरूप उनलाई हटाइएको हो।
मगरका अनुसार, कक्षामा सामाजिक विषय पढाइरहेका बेला विद्यार्थीहरूसँग प्रश्न–उत्तर गर्ने क्रममा उनले समीक्षा राईलाई थप्पड हानेका थिए। “सामान्य विषयमा छलफल गर्दा विद्यार्थीलाई अन्य तरिकाले सम्झाउन सक्ने विकल्प हुँदाहुँदै कुटपिटमा उत्रिनु गलत ठहरियो,” अध्यक्ष मगरले बताए।
घटनापछि विद्यार्थीका अभिभावकले राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कारबाहीको माग गरेका थिए। केही महिनाअघि मात्रै प्रअमा नियुक्त राउतले जिम्मेवारीअनुसार भूमिका निर्वाह नगरेको भन्दै स्थानीयले पनि उनको हटाइँ उचित ठानेका छन्।
राउतलाई जिम्मेवारीमुक्त गरेपछि विद्यालयले शिक्षक अङ्गधन राईलाई निमित्त प्रधानाध्यापकको रूपमा जिम्मेवारी तोकेको विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गा राईले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस