दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले ।उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेट गुमायो। आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार २ विकेट गयो । कप्तान र उपकप्तान सस्तैमा पेभेलियन फर्किए। कुशल मल्लले यो प्रतियोगिता अवधिभर नै राम्रो ब्याटिङ गर्न सकेका छैनन्। आजको खेलमा पनि कुशल मल्ल ११.४ ओभरमा ७ रन बनाउँदै क्याच आउट भए ।
पाँचौँ विकेटका लागि कुशल भुर्तेलसँग आदिल आलमले ४० रनको साझेदारी गरे । उनले १५ बलमा ३ चौकासहित १६ रन बनाए।
छैटौं विकेट कुशल भुर्तेलको विकेट गयो। सातौं विकेटको रुपमा गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रनमा विकेटकिपरको हातमा क्याच हुँदै पेभेलियन फर्किए।
आठौं विकेटको रुपमा लोकेश बम १९.१ ओभरमा ३ बल खेल्दै डकआउट भए। नन्दन यादव ९ रनमा अन्तिम बलमा रनआउट हुँदा सोमपाल कामी १ रनमा अविजित रहे।
ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए।
सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए।
आज दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।
यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस