after_navbar

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित


कार्तिक ११, २०८२


काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो।

ad

नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गर्दै टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्।

प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको थियो। इरानले भारतलाई २–० र नेपाललाई ३–० ले हराउँदै अपराजित रह्यो। नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो भने भारत पनि इरानसँग २–० ले पराजित भएको थियो।

सावित्राको शानदार प्रदर्शन

नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनायो। खेलको दोस्रो मिनेटमै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रस बललाई उनले कुशलतापूर्वक नियन्त्रणमा लिएर भारतीय गोलकिपरलाई छलाउँदै गोल गरिन्।

पहिलो हाफमा थप अवसर सिर्जना भए पनि गोल थप्न नेपाल सफल भएन। दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो। ६३औं मिनेटमा पाएको फ्रिकिकमा सावित्राले सिधै प्रहार गर्दा बल सिधै जालीमा पुगेको थियो, जसले नेपाललाई २–० को सहज अग्रता दिलायो।

भारतले खेलको अन्त्यतिर दबाब बढायो र ८१औं मिनेटमा वैकल्पिक खेलाडी करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्मला देवीको फ्रिकिकबाट आएको बल बाउन्स हुँदै विमला विकसमक्ष पुगेको थियो, तर क्लियर गर्न खोज्दा बल करिश्मासमक्ष पुगेको र उनले सहजै गोल गरेकी थिइन्।

तर, त्यो गोल भारतका लागि सान्त्वना मात्र बन्यो। नेपालले अन्तिम मिनेटसम्म रक्षात्मक र आक्रामक सन्तुलन कायम राख्दै २–१ को जित पक्का गर्‍यो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="