काठमाडौ, ११ कार्तिक । केन्यामा यात्रुवाहक विमान राष्ट्रिय निकुञ्जनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक सानो निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।
केन्या सिभिल एभिएसन अथोरिटीद्वारा जारी विज्ञप्तिमा विमानमा १२ जना सवार रहेको पुष्टि गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विमानमा सवार सबै १२ जनाको मृत्यु भएको छ।” दुर्घटनाको कारणबारे हालसम्म ठोस जानकारी नआए पनि अनुसन्धानका लागि सरकारी एजेन्सीहरू घटनास्थलमा पुगेका छन्।
स्थानीय समय अनुसार विमान बिहान करिब ५:३० बजे खसेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार मौसम र प्रविधिसम्बन्धी कारणले दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।
‘द गार्जियन’का अनुसार, पछिल्लो १८ महिनामा केन्याका राष्ट्रिय निकुञ्ज क्षेत्रहरूमा आकाशमा ठोक्किने तथा विमान दुर्घटनाका घटना बारम्बार भइरहेका छन्। यसअघि, सन् २०२४ मार्च ५ मा नैरोबी राष्ट्रिय निकुञ्जमा सफारीलिंक एभिएसनको व्यावसायिक उडान र ९९ फ्लाइङ स्कुलको तालिम विमान आकाशमै ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो।
त्यो दुर्घटना विल्सन एयरपोर्टबाट दुवै विमान उडेको केही समयमै भएको थियो। सो घटनामा ३९ यात्रु र पाँच चालक दलका सदस्यसहितको डे ह्याभिल्यान्ड क्यानडा ड्यास–८ विमान र ९९ फ्लाइङ स्कुलको सेसना १७२ एम विमान संलग्न थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस