काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका घर, विद्यालय र आवासीय भवनहरूमा आक्रमण गरेको बताइएको छ।
गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन्। गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासले इजरायली सैनिकमाथि आक्रमण गरी मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। तर, हमासले ती सबै आरोप अस्वीकार गर्दै कुनै पनि आक्रमणमा आफ्नो संलग्नता नरहेको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ।
रक्षामन्त्री काट्जले हमासले ‘रेडलाइन’ पार गरेको भन्दै त्यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि हमासविरुद्ध सैन्य कारबाही गर्न आदेश दिएका छन्। नेतान्याहूले युद्धविराम सम्झौताअन्तर्गत हमासले गलत शव फिर्ता गरेको आरोप समेत लगाएका छन्।
करीब २० दिनअघि मात्रै इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा प्रस्तुत गरेको २० बुँदे शान्ति योजनामा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो। तर पछिल्ला आक्रमणसँगै युद्धविराम सम्झौता पुनः संकटमा परेको छ।
संघर्ष बढ्दै जाँदा अहिलेसम्म गाजामा ६७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस