after_navbar

प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि बिरामीको चाप बढ्दो


कार्तिक १५, २०८२



दाङ,१४ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्र रोग) सेवा सुरु भएपछि सो सेवाका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । अब यस्ता समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

ad

प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाका अनुसार युरोलोजी ओपीडीमा दैनिक ७० भन्दा बढी बिरामीले परामर्शसहित सेवा लिइरहेका छन् । जेठदेखि असोज मसान्तसम्म २ सय ७७ जना बिरामीले उक्त सेवा प्राप्त गरेका छन् ।

युरोलोजी सेवा सुरु हुनुअघि बिरामीलाई सामान्यदेखि जटिल उपचारका लागि अन्य सहर जानुपर्ने बाध्यता थियो । अहिले अत्याधुनिक उपकरणसहित सेवा विस्तार भएपछि स्थानीयमै उपचार सम्भव भएको छ ।

डा. खनियाका अनुसार हालसम्म १ सय ५७ जना मिर्गौलामा पत्थरी भएका बिरामीको जटिल अपरेशन गरिएको छ भने २२ जना मध्यम र ९९ जना सामान्य प्रकृतिका बिरामीको शल्यक्रिया गरिएको छ ।

युरोलोजी सेवामा पिसाबसम्बन्धी समस्या, प्रोष्टेट, मिर्गौलाको पत्थरी, पित्तथैली, अण्डकोषमा मासु पलाउने, सुन्निने, पिसाब पोल्ने वा चुहिने जस्ता विभिन्न रोगहरूको उपचार गरिन्छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा.जनार्दन पन्थीका अनुसार युरोलोजी सेवा अत्यन्त प्रभावकारी बन्दै गएको छ । उनले स्थानीयस्तरमै विशेषज्ञ उपचार पाउँदा बिरामीहरू खुसी भएको बताए ।

डा. सुशिल खनियाको नेतृत्वमा डा. विवेक थापा, डा. पङ्कज नेपालीलगायतको चिकित्सक टोलीले साना देखी ठूला शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="