after_navbar

स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा


कार्तिक १८, २०८२


सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्।

ad

दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी भएको दार्मा गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नं. ३ र आइतबार वडा नं. ५ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार उच्च ज्वरो आएका १५८ जनाको रगत परीक्षण गर्दा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

पहिलो दिन १४६ महिला र १०१ पुरुष गरी २४७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। ज्वरोका लक्षण देखिएका ६७ जनाको रगत परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पुष्टि भएको थियो। दोस्रो दिन १११ महिला र ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये ज्वरो भएका ९१ जनाको रगत परीक्षण गर्दा २८ जनामा स्क्रब टाइफस र एक जनामा डेंगी पाइएको जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए।

हाल गाउँपालिका र आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएका छन्। रोगको पहिचान र नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार उच्च ज्वरोका कारण मृत्यु समेत भएका र यसले स्थानीयमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि पहल थालेको हो। उनका अनुसार, शिविरबाट रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य जनचेतना अभिवृद्धि र समस्या समाधानमा सहयोग पुगेको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको प्रथम त्रैमासिक विवरणअनुसार जिल्लामा १०७ जनामा स्क्रब टाइफस र १२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="