after_navbar

अफगानिस्तानमा भूकम्पमा परी २४ जनाको मृत्यु


कार्तिक १, २०८२


काठमाडौ,१८ कार्तिक । उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दर्जनौँ घाइते भएका छन् भने कतिपय क्षेत्रमा पहिरो खस्दा घरहरू ध्वस्त र प्रमुख सडक अवरुद्ध भएका छन् ।

ad

भूकम्पको केन्द्र समानगन प्रान्तको खुल्म क्षेत्र, करिब २८ किलोमिटर गहिराइमा रहेको बताइएको छ । समानगन, बाल्ख, सार-ए-पोल, बागलान र कुन्दुजमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । विशेष गरी काबुल र मजार-ए-शरीफ बीच पर्ने पहाडी बस्तीहरू बढी प्रभावित भएका छन्, जहाँ माटो–इँटाका कम तल्लाका घरहरू ठूलो संख्यामा भत्किएका छन् ।

आफ्नो घर भत्किँदा बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले भावुक हुँदै भने, “राति १ बजेतिर भूकम्प गएपछि म त बाहिर निस्किन भ्याएँ, तर मेरी बुहारी ज्यान जोगाउन सकिनन् । उनी गर्भवती थिइन्, विवाह भएको १० महिना मात्रै भएको थियो । अब न घर बाँच्यो, न बस्ने ठाउँ नै छ ।”

चाइना मिडिया ग्रुपद्वारा कैद दृश्य अनुसार काबुल–मजार राजमार्गमा चट्टान खस्दा सडक बन्द भएको छ । केही सवारी साधन भग्नावशेषमा पुरिएपछि यात्रुहरू बीचमै अलपत्र परेका छन् ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन् । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ । भूकम्पमा परेर घाइते भएका नुर मोहम्मदले भने, “कम्पनका बेला म दोस्रो तलाबाट खस्न पुगें । अहिले उपचार भइरहेको छ ।”

भारतीय र युरेसियन प्लेटको सङ्घात क्षेत्र नजिक रहेको अफगानिस्तान उच्च भूकम्पीय जोखिमयुक्त मुलुक मानिन्छ । यस वर्षकै अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढीले ज्यान गुमाएका थिए । सन् २०२३ मा पनि उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पले हजारौँको ज्यान लिएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="