दाङ,२७ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ जिल्लामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरेपछि किसानहरू खुशी भएका छन्।
गढवा गाउँपालिकाको समन्वयमा गरिएको खरिद प्रक्रियाले किसानहरूलाई राहत मिलेको छ। गढवा गाउँपालिका–४ रामनगरका किसान रामनिवास यादवका अनुसार उनले सरकारले तोकेको प्रतिक्विन्टल ३ हजार ४सय ६३ रुपैयाँ ८१ पैसामा ४० क्विन्टल धान बिक्री गरेका छन्।
उनले भने, “गाउँका व्यापारीहरूले प्रतिक्विन्टल दुई हजार पाँच सय रुपैयाँ मात्र दिन्थे। तर खाद्यले सरकारले तोकेको मूल्यमा खरिद गर्दा हाम्रो श्रमको उचित मूल्य पाइयो।”
धान उत्पादन बढी भएकाले खाद्य कम्पनी र गाउँपालिका बीच सहमति अनुसार प्रतिकिसान बढीमा ४० क्विन्टलसम्म धान खरिद गर्ने व्यवस्था गरिएको छ।
तर, केन्द्रबाटै निश्चित कोटा निर्धारण गरिएकाले सबै किसानको धान खरिद गर्न कठिनाइ भएको गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीले बताइन्। उनका अनुसार, “गढवामा हरेक वर्ष करिब १५–१६ हजार क्विन्टल धान उत्पादन हुने गर्छ, तर यस वर्ष खाद्य कम्पनीले जम्मा दुई हजार क्विन्टल मात्र खरिद गर्ने सम्झौता गरेको छ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुर शाखाकी प्रमुख तुलामाया लोहारका अनुसार पनि कोटा प्रणालीकै कारण धान खरिदमा समस्या आएको हो। उनका अनुसार केन्द्रले दाङ जिल्लाका लागि पाँचहजार क्विन्टलको कोटा दिएको छ, जसअनुसार गढवा गाउँपालिकाबाट दुईहजार, लमही नगरपालिका १५ सय र राप्ती गाउँपालिकाबाट १५ सय क्विन्टल धान खरिद भइरहेको छ।
पहिलो दिन १७० क्विन्टल र दोस्रो दिन ३५७ क्विन्टल गरी हालसम्म गढवाबाट ५५७ क्विन्टल धान खरिद भइसकेको उनले बताइन् ।
सरकारको समर्थन मूल्यमा धान खरिदले किसानमा उत्साह जागेको भए पनि सीमित कोटा प्रणालीका कारण सबै किसानको उत्पादन बिक्री गर्न नसक्ने समस्या देखिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस