दाङ,२७ कार्तिक । उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दा सम्बन्धी मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेका मिसिल झिकाउने आदेश गरेको हो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बिहीबार लामिछाने र जोशीको मुद्दामा बहस सकिएपछि यस्तो आदेश दिइएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित चार जना विरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो।
अभियोग दायरपछि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा पठाइएको छ।
लामिछाने र जोशीले आफ्नो भागमा पर्ने रकम बराबरको बिगो बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइ माग गरेका थिए। तर जिल्ला अदालतले त्यो निवेदन अस्वीकार गरेपछि उनी उच्च अदालतमा पुगेका हुन्।
बिहीबारको बहसमा लामिछाने तर्फबाट नारायण कँडेल, दीपेन्द्र झा र महेन्द्र पाण्डे, जोशी तर्फबाट रोचक जोशी, र सहकारीका बचतकर्ताहरू तर्फबाट महान्यायाधीवक्ता प्रकाश मरासिनी र सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले बहस गरेका थिए।
मिसिल झिकाउने आदेशपछि अब सर्वोच्च अदालतमा रहेका फाइलहरू आएपछि मात्र उच्च अदालतले थप निर्णय गर्नेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस