दाङ,२७ कार्तिक । दाङको तुलसीपुरमा लघुवित्तमा आवद्ध महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ सेवा फाउन्डेशन नेपाल र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संयुक्त आयोजनामा “आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरिएको हो।
कार्यक्रम ग्रामीण विकास लघुवित्त वित्तीय संस्था तुलसीपुर शाखा प्रमुख साधना चौधरीको अध्यक्षता तथा संस्थाका सिईओ श्याम कटवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सिईओ कटवालले ग्रामीण लघुवित्त जस्ता वित्तीय संघसंस्थाहरू आर्थिक समृद्धिको पुलका रूपमा कार्यरत रहेको उल्लेख गर्दै संस्थाको पृष्ठभूमि र उपलब्धिहरूबारे जानकारी दिए।
उनका अनुसार, संस्था २०५० सालमा स्थापना भएको अर्धसरकारी संस्था हो, जसले हाल देशभरका ५७ जिल्लाका २६९ स्थानीय तहमा सेवा विस्तार गरिसकेको छ। संस्थाको कुल लगानी करीब १४ अर्ब रुपैयाँ रहेको जानकारी दिँदै उनले भने, “हाम्रो संस्था धितोमा ७ लाख र विना धितो ५ लाखसम्म ऋण सुविधा उपलब्ध गराउँछ। हाल वार्षिक ७.५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह भइरहेको छ।”
कटवालले मोबाइल बैंकिङमार्फत कर्जा लगानी र भुक्तानीका विवरण बुझ्ने डिजिटल सेवा सञ्चालनमा ल्याएको र कर्जा सुरक्षा कोषमार्फत जोखिम न्यूनीकरणमा पनि संस्था अग्रसर रहेको बताए। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत सुत्केरी स्याहारका लागि १० हजार रुपैयाँसम्मको सहयोग पनि उपलब्ध गराउँदै आएको जानकारी दिए।
कार्यक्रममा सेवा फाउन्डेशनका अध्यक्ष डा. नहकुल के.सी. ले वित्तीय साक्षरतालाई आर्थिक समृद्धिको मूल आधारका रूपमा व्याख्या गरे। उनका अनुसार, वित्तीय साक्षरता भनेको केवल पैसा कमाउने सीप होइन, बचत, लगानी र सही आर्थिक निर्णय लिन सक्ने ज्ञान हो। उनले भने, “वित्तीय साक्षर महिला र युवाले आफ्नो परिवार मात्र होइन, सम्पूर्ण समुदाय र देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्छन्।”
डा. केसीले महिलाहरूलाई समूहगत रूपमा संगठित भई नियमित बचत गर्ने बानी बसाल्न र साना ऋण सुविधाको सदुपयोग गर्दै सीप तालिमबाट प्राप्त ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरे। उनले रोजगारी सिर्जना र आत्मनिर्भर समाज निर्माण नै संस्थाको मुख्य उद्देश्य रहेको बताए।
डा. केसीले भने-“अब सीप सिक्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ। सीपयुक्त महिलाहरूलाई वित्तीय पहुँच जोड्न सके, उनीहरू स्थायी रोजगारी र आम्दानीका स्रोत बन्न सक्छन्।”
कार्यक्रमका विभागीय प्रमुख खगेन्द्र प्रसाद अर्यालले सहभागीहरूलाई बचत, खर्च र लगानीका प्रभावकारी उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए। उनले वित्तीय अनुशासन र सानो बचतको निरन्तरताले ठूलो आर्थिक परिवर्तन सम्भव बनाउने उल्लेख गरे।
कार्यक्रममा मन्टेस्वरी, कम्प्युटर, अचार, आलु चिप्स, पेन्टिङ र पशुपालन तालिमका सहभागीहरूलाई व्यवसायिक योजना बनाउन र लघुवित्तसँग सहकार्य गर्न प्रेरित गरिएको थियो। उक्त कार्यक्रममा १५० बढी महिलाको सहभागीता रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस