after_navbar

वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट


कार्तिक २८, २०८२


काठमाडौ,२७ कार्तिक । साँगुरीगढी गाउँपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधिद्वारा कुटिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका हुन्।

ad

गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। आक्रमणबाट अधिकृत राईको अनुहारमा गम्भीर चोट लागेको छ। हाल उनको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

घाइते राईका अनुसार वडाध्यक्ष लिम्बूले सम्झौता नभएको खेलकुद कार्यक्रमको एक लाख रुपैयाँ भुक्तानी मागेका थिए। आफूले कानुनअनुसार सम्झौता नभएका योजनाको रकम वितरण गर्न नमिल्ने बताएपछि लिम्बू आक्रामक बनेर कुटपिट गरेको राईले बताए।

घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आक्रमणकारी वडाध्यक्षविरुद्ध तत्काल कारबाही गर्न र कर्मचारीहरू स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “कर्मचारीको सुरक्षामा सरकार गम्भीर नभए हामी कठोर आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।”

आक्रमणपश्चात् गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज आंशिक रूपमा प्रभावित भएको छ।

यसैबीच, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले पनि प्रेस विज्ञप्ति जारी गर्दै योजना अधिकृतमाथि भएको आक्रमणको तीव्र निन्दा गरेका छन्। उनले वडाध्यक्षविरुद्ध कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै भने, “कर्मचारीमाथि भएको यो आक्रमणले गाउँपालिकाको मर्यादामा आँच पुगेको छ।”

अध्यक्ष रुम्दालीले एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले गाउँको विकास र दैनिक प्रशासनिक काममा समेत अवरोध पुर्‍याइरहेको आरोप पनि लगाएका छन्।

तर, आरोपित वडाध्यक्ष लिम्बूले भने योजना अधिकृत राईले उपभोक्ता समितिको रकम भुक्तानी नगरेको र सुरुमा आफूमाथि नै आक्रमण गरेको दाबी गरेका छन्। उनले राईको आक्रमणबाट आफ्ना हातको औँला फ्याक्चर भएको बताएका छन्।

गाउँपालिकामा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूबीचको राजनीतिक विवादले प्रशासनिक कामकाज र विकास निर्माणका योजनामा निरन्तर अवरोध सिर्जना भइरहेको स्थानीयवासीले बताएका छन्

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="