after_navbar

सन्तोष परियारले त्यागे रास्वपाः ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुँदै


कार्तिक २, २०८२


काठमाडौ,२८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेको सार्वजनिक गरेका छन्। उनले नयाँ राजनीतिक अभियानमा प्रवेश गर्न लागेको कारण रास्वपा छाडेको बताएका हुन् । रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुने बताइएको छ।

ad

यसअघि नै रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिसकेकी छन्। यतिबेला तोसिम्का कार्कीसहितका केही नेताहरू पनि पार्टी छोड्न सक्ने चर्चा छ, तर उनीहरूले यसबारे औपचारिक रूपमा केही बताएका छैनन्।

परियारले शुक्रबार एक लिखित वक्तव्य जारी गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी अलग भएको घोषणा गरे। उनले महासचिवलाई सम्बोधन गरिएको राजीनामा पत्रमा जेनजी आन्दोलनपछि नेपाली राजनीतिको पुनर्संरचना, वैचारिक पुनःपरिभाषा र संगठनगत पुनर्गठनको ऐतिहासिक जिम्मेवारी नयाँ पुस्तामा आएको उल्लेख गरेका छन्। बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै राष्ट्रहित र जनजीविकामा प्रत्यक्ष जोडिने वैकल्पिक राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने भएकै कारण पार्टी छाडेको उनले स्पष्ट पारे।

रास्वपामा रहँदा पार्टी तथा देशको हितका लागि इमानदार प्रयास गरेको उल्लेख गर्दै उनले आफ्ना विचारलाई संस्थागत गराउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरेका छन्। नेपाली समाजको विविध र जटिल बनावटअनुसार ठोस राजनीतिक विचार निर्माण गर्न नसकिएकोमा उनले दुःख पनि व्यक्त गरे।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई उनले नेपाली राजनीति बदलिने संकेत दिने ‘ऐतिहासिक मोड’ का रूपमा वर्णन गर्दै, यसले परम्परागत राजनीतिक ढाँचाले देशलाई अघि बढाउन नसक्ने यथार्थ उजागर गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="