काठमाडौ,२८ कार्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको प्रस्तावित अध्यादेशमा विदेशस्थित नेपाली दूतावासमार्फत नै मतदानको सम्पूर्ण प्रक्रिया सञ्चालन गरिने व्यवस्था गरिएको छ।
अध्यादेशका अनुसार दूतावासमा मतदानका लागि आवश्यक सम्पूर्ण कार्य(नामावली संकलन, विवरण जाँच, मतदान र मतगणनासम्म) दूतावासमै हुनेछन्। निर्वाचन आयोगले नेपाल सरकारको अधिकृतलाई सम्बन्धित देशमा निर्वाचन अधिकृतका रूपमा तोक्नेछ। दूतावासले आयोगले तयार पारेको मतदाता नामावलीका आधारमा विदेशमा रहेका नेपालीहरूको विवरण संकलन र प्रमाणीकरण गर्ने जिम्मेवारी पाउनेछ।
गृह मन्त्रालयका एक स्रोतका अनुसार अध्यादेश अहिले कानुन मन्त्रालयमा ‘रिभ्यू’ चरणमा छ। गृहमन्त्री ओमप्रकाश अर्यालले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा उपलब्ध गराउन तयारी भइरहेको बताए। यद्यपि नेपालभित्र एक निर्वाचन क्षेत्रमा बसोबास गर्ने मतदाताले अर्कै क्षेत्रमा मतदान गर्न सक्ने व्यवस्था भने अध्यादेशको पछिल्लो मस्यौदयमा समेटिएको छैन।
यसपटक सरकारले विदेशस्थित नेपालीलाई समानुपातिकतर्फ मात्र मतदान गर्न दिने गरी व्यवस्था मिलाउन लागेको छ। उनीहरूले दल रोजेर मत दिन सक्नेछन्, तर प्रत्यक्षतर्फ उम्मेदवार रोज्न पाउने छैनन्।
२०७४ फागुन ७ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी तथा व्यवस्थापकीय तयारी गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति अनुसन्धान प्रतिष्ठानलाई विभिन्न मुलुकले विदेशस्थित नागरिकलाई प्रदान गर्ने मतदान सुविधाको अध्ययन गर्न जिम्मा दिएको थियो। प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मणप्रसाद भट्टराईका अनुसार अध्ययन हाल प्रारम्भिक चरणमै रहेको छ र यस विषयमा आयोगसँग पनि छलफल गरिनेछ।
सरकारले प्रतिनिधि सभा निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, निर्वाचन कसूर तथा सजाय ऐन र मतदाता नामावली ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने तयारीसमेत गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस