काठमाडौ,२८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली सङ्कलनमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनमार्फत मतदाता नाम दर्ता गराउन सकिने व्यवस्था लागू भएलगत्तै बिहीबारदेखि प्रणालीमा अत्यधिक चाप देखिएको थियो ।
अनलाइन दर्ता प्रक्रियामा एकैपटक धेरै प्रयोगकर्ताबाट रिक्वेस्ट बढेपछि सर्भरमा अवरोध उत्पन्न भएको र सेवा सञ्चालन नै कठिन हुने अवस्था बनेको आयोगले जनाएको छ। यही समस्याबारे प्रधानमन्त्री कार्कीले शुक्रबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै छिटो समाधान गर्न निर्देशनसमेत दिएकी हुन्।
प्रधानमन्त्रीले सर्भर क्षमता अभिवृद्धि गरी मतदाता नामावली सङ्कलन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन आवश्यक सबै कदम तत्काल चाल्न आग्रह गरेकी छन्।
प्रतिक्रिया दिनुहोस